ato logo
Search Suggestion:

अवैध सुपर योजनाहरू - तपाईंको सेवानिवृत्तिभरण (सुपर) चाँडै निकाल्ने प्रस्तावहरूबाट सावधान रहनुहोस्

Last updated 18 April 2023

सेवानिवृत्तिभरण (सुपरएनुएसन) को बारेमा

सेवानिवृत्तिभरण (सुपरएनुएसन), वा "सुपर" भन्नाले तपाईंले काम गर्दै गर्दा अवकाशपछिको प्रयोजनको लागि आफ्नो तलवबाट कट्टा गरेर बचत गर्ने रकमलाई जनाउँछ ।

सुपर महत्त्वपूर्ण छ किनकि तपाईंले जति धेरै बचत गर्नुहुन्छ, अवकाशपछि तपाईंको लागि उति नै धेरै पैसा तपाईंसँग हुनेछ।

तपाईंलाई क्रेडिट कार्डको ऋण तिर्न, घर वा गाडी किन्न वा छुट्टी मनाउन जाने जस्ता कार्यहरू गर्नका लागि अहिले नै तपाईंको सुपरमा पहुँच गर्न मद्दत गर्न सक्छौँ भनी केही व्यक्तिहरूले सुपर योजनाहरूको प्रवर्द्धन गर्छन्।

यी योजनाहरू गैरकानूनी हुन्छन् र तपाईंले पहुँच गर्नु हुने सुपर भन्दा तपाईंको अझ धेरै खर्च हुन सक्छ।

यदि तपाईंलाई यस्तो योजनाको बारेमा सम्पर्क गरिएको छ भने, तुरुन्तै सल्लाहको लागि र तपाईंको सुपर सुरक्षित छ भनी सुनिश्चित गर्न हामीलाई 13 10 20 मा फोन गर्नुहोस्।

यदि तपाईं अंग्रेजी बाहेकका भाषा प्रयोग गरेर हामीसँग बोल्न चाहनुहुन्छ भने, अनुवाद र दोभाषे सेवा (Translating and Interpreting Service)लाई 13 14 50 मा फोन गर्नुहोस्। यो सेवाले हामीलाई एक दोभाषेको साथमा फोन गर्नेछ ताकि हामी तपाईंको जिज्ञासाबारे मद्दत गर्न सक्छौँ।

अवैध सुपर योजनाहरू कसरी सञ्चालन हुन्छन्?

अवैध सुपर योजनाहरूमा सामान्यतया कसैले तपाईंलाई आफ्नो सुपर चाँडै पहुँच गर्न मद्दत गर्ने प्रस्ताव गर्दछ।

अवैध सुपर योजनाहरूका प्रवर्द्धकहरू सामान्यतया यस्ता कुराहरू गर्छन् :

  • तपाईंले आफ्नो सुपर आफूले चाहेको जुनसुकै कुराको लागि प्रयोग गर्न सक्नुहुन्छ भनेर दावी गर्छन् - जुन सत्य होइन
  • तपाईंको हालको सुपर कोषबाट तपाईंको सुपरलाई स्व-व्यवस्थित सुपर कोष (एस एम एस एफ) मा स्थानान्तरण गर्न प्रोत्साहित गर्छन् जसको व्यवस्था गर्न तिनीहरूले प्राय: तपाईंलाई सहयोग पनि गर्नेछन्।
  • जाली कागजातको प्रयोग गरेर निकाल्ने शर्त कसरी पूरा गर्ने भनेर बताउँछन्
  • उनीहरूले प्रदान गर्ने सेवाहरूका लागि उच्च शुल्क लिन्छन्
  • तपाईंको पहिचान गर्ने कागजातहरू माग्छन् जुन उनीहरूले तपाईंको पहिचान चोरी गर्नको लागि प्रयोग गर्न सक्छन्।

अवैध सुपर योजनाहरूले प्रायः आर्थिक दबाबमा परेका वा सुपर कानूनहरू नबुझेका मानिसहरूलाई लक्षित गर्छन्।

'निकाल्ने शर्त' (condition of release) मा भनिएको कुरा पूरा नगरी कुनै पनि सुपर कोषबाट आफ्नो सुपर निकाल्नु, वा अरूलाई त्यसो गर्न प्रोत्साहन गर्नु गैरकानूनी हो।

अवैध सुपर योजनाहरूले पहिचान चोरी निम्त्याउन सक्छन्।

यदि तपाईं यी मध्ये कुनै एक योजनामा सहभागी हुनुभयो भने, तपाईं पनि पहिचान चोरीको सिकार हुन सक्नुहुन्छ। यो त्यतिबेला हुन्छ जब कसैले तपाईंको व्यक्तिगत विवरणहरू प्रयोग गर्दछ र तपाईंले भएको बहाना बनाएर जाली कार्य वा अन्य अपराधहरू गर्दछ।

एक पटक तपाईंको पहिचान चोरी र दुरूपयोग भएपछि, यसलाई सल्टाउन वर्षौं लाग्न सक्छ।

एस एम एस एफ (SMSF) मा रकमान्तर (रोलओभर)

धेरैजसो अवैध सुपर योजनाहरूलाई तपाईंको हालको सुपर कोषबाट नयाँ स्थापित एस एम एस एफ (SMSF) मा तपाईंको सुपर स्थानान्तरण गर्न आवश्यक हुन्छ। यसलाई 'रोलओभर' भनिन्छ

तपाईंले आफ्नो सुपर रोलओभर वा स्थानान्तरण गर्नु अघि, आफ्नो सुपर कोषलाई सम्पर्क गर्नुहोस्। तिनीहरूले तपाईंले आफ्नो सुपर पहुँच गर्न सक्नुहुन्छ कि हुन्न भनेर तपाईंलाई सल्लाह दिन सक्छन्।

हामी रोलओभर प्रक्रियाहरूलाई बलियो बनाउन र तपाईंको सेवानिवृत्ति बचतलाई गैरकानूनी योजनाहरूबाट जोगाउन का लागि सुपर फन्डहरूसँग मिलेर काम गर्दैछौ।

तपाईंले कहिले कानूनी रूपमा आफ्नो सुपर पहुँच गर्न सक्नुहुन्छ

सामान्यतया, तपाईंले आफ्नो सुपर पहुँच तब गर्न सक्नुहुन्छ जब तपाईं 'संरक्षण उमेर' (preservation age) पुग्नुहुन्छ र काम गर्न छोड्नुहुन्छ।

जुलाई 1960 अघि जन्मेकाहरूका लागि हाल अष्ट्रेलियामा संरक्षण उमेर ५५ वर्ष हो। त्यसपछि यो क्रमशः बढ्दै जान्छ । जुन १९६४ पछि जन्मेका जो कोहीका लागि पनि संरक्षण उमेर ६० वर्ष हो।

त्यहाँ केहि विशेष परिस्थितिहरू छन् जहाँ तपाईं कानूनी रूपमा आफ्नो सुपर चाँडै पहुँच गर्न सक्नुहुन्छ। यसमा विशिष्ट चिकित्सा अवस्थाहरू समावेश छन् वा जब तपाईं गम्भीर आर्थिक कठिनाइको अनुभव गर्दै हुनुहुन्छ।

तपाईं आफ्नो सुपर चाँडै पहुँच गर्न योग्य हुनुहुन्छ कि हुनुहुन्न भनेर थाहा पाउन:

कानूनी रूपमा आफ्नो सुपर चाँडै पहुँच गर्न तपाईंले कसैलाई आवेदन शुल्क तिर्न आवश्यक पर्दैन।

अस्थायी बासिन्दाहरू

अस्थायी बासिन्दाको रूपमा तपाईंले अष्ट्रेलिया छोड्दा आफ्नो सुपर भुक्तान प्राप्त गर्न तपाईं योग्य हुन सक्नुहुन्छ। यसलाई अष्ट्रेलियाबाट जाँदाको सुपर भुक्तानी (डी ए एस पी) (DASP) भनिन्छ।

यदि तलका यी सबै कुराहरू सत्य छन् भने तपाईंले डी ए एस पी (DASP) को लागि आवेदन दिन सक्नुहुन्छ:

  • तपाईंले अस्थायी प्रवेशाज्ञामा अष्ट्रेलिया भ्रमण गर्नुभयो (प्रवेशाज्ञा उपवर्ग ४०५ र ४१० बाहेक)
  • तपाईंको प्रवेशाज्ञा अब प्रभावकारी छैन
  • तपाईं अष्ट्रेलियाबाट जानुभएको छ

यो भुक्तानी अष्ट्रेलिया वा न्यूजील्याण्डका नागरिकहरू वा स्थायी बासिन्दाहरूलाई उपलब्ध छैन।

अवैध रूपमा सुपर चाँडै पहुँच गरेकोमा लाग्ने जरिवानाहरू

तपाईंको सुपर अवैध रूपमा चाँडै पहुँच गरेमा गम्भीर जरिवानाहरू लागू हुन्छन्। प्रवर्द्धकले तपाईंको सुपरबाट लिने कुनै पनि शुल्कमा तपाईंले कटौती दावी गर्न सक्नुहुन्न।

यदि तपाईंले अवैध रूपमा आफ्नो सुपर चाँडै पहुँच गरेमा:

  • तपाईंले पहुँच गर्नुभएको सुपरमा तपाईंले ब्याज र जरिवाना तिर्न आवश्यक पर्न सक्छ
  • तपाईंले पछि कोषमा सुपर फिर्ता गर्नुभयो भने पनि, यो तपाईंको कर योग्य आम्दानीमा समावेश हुन्छ

यदि तपाईं योजनामा संलग्न हुनुभएको छ भने, स्वैच्छिक प्रकटीकरण दर्ता गर्न हामीलाई तुरुन्तै सम्पर्क गर्नुहोस्। थप कारबाही निर्धारण गर्दा हामी तपाईंका परिस्थितिहरूलाई ध्यानमा राख्नेछौँ।

एस एम एस एफ (SMSF) का सदस्यहरू र ट्रस्टीहरू

ट्रस्टी भनेको त्यो व्यक्ति हो जसले सुपर कोष प्रबन्ध गर्दछ। एस एम एस एफ र अन्य प्रकारका कोषहरू बीचको भिन्नता भनेको एस एम एस एफका सदस्यहरू नै ट्रस्टीहरू हुन्। यसको मतलब तिनीहरू आफ्नै फाइदाका लागि एस एम एस एफ चलाउँछन्।

यदि तपाईं एक एस एम एस एफ ट्रस्टी हुनुहुन्छ र सुपर चाँडै निकाल्न अनुमति दिनुहुन्छ भने, तपाईंलाई:

  • प्रशासनिक जरिवाना लाग्न सक्छ
  • अयोग्य ठहराइन सक्छ

यदि तपाईं अयोग्य ठहरिनु भयो भने, तपाईंले एस एम एस एफको ट्रस्टीको रूपमा काम गर्न सक्नुहुन्न र तपाईंको नाम अनलाइन प्रकाशित गरिनेछ।

योजनामा तपाईंको संलग्नताको आधारमा अन्य जरिवानाहरू लाग्न सक्छन्।

प्रवर्द्धकहरू

सुपरको अवैध प्रारम्भिक पहुँचलाई प्रोत्साहन वा प्रवर्द्धन गर्ने व्यक्तिहरूलाई 'प्रवर्द्धक' भनिन्छ। उनीहरूलाई हामी र अष्ट्रेलियाली धितो र लगानी आयोग (Australian Securities and Investments Commission) (ASIC) ले निम्न कुराहरू उल्लङ्घन गरेकोमा कारबाही गर्न सक्छ:

  • सेवानिवृत्तिभरण (सुपरएनुएसन) उद्योग (पर्यवेक्षण) अधिनियम १९९३ (Superannuation Industry (Supervision) Act 1993)
  • निगम अधिनियम २००१ (Corporations Act 2001)
  • अष्ट्रेलियाली धितो र लगानी आयोग अधिनियम २००१ (Australian Securities and Investments Commission Act 2001)

उल्लङ्घनहरूमा भ्रामक आचरण र अष्ट्रेलियाको वित्तीय सेवा इजाजतपत्र बिना वित्तीय गुणनफल सल्लाह दिने कुराहरू पर्न सक्छन्।

गम्भीर जरिवाना र जेल सर्तहरू सहितका नागरिक र फौजदारी दण्डहरू लागू गर्न सकिन्छ।

अवैध योजनाहरूका बारेमा हामीलाई बताउनुहोस्

यदि कसैले तपाईंलाई तपाईंले आफ्नो सुपर चाँडै पहुँच गर्न सक्नुहुन्छ भन्दै सम्पर्क गरेको छ भने:

  • योजना, संस्था वा तपाईंलाई सम्पर्क गर्ने व्यक्तिसँगको कुनै पनि संलग्नता बन्द गर्नुहोस्।
  • कुनै पनि कागजातमा हस्ताक्षर नगर्नुहोस्।
  • तिनीहरूलाई तपाईंको कुनै पनि व्यक्तिगत विवरणहरू प्रदान नगर्नुहोस्, जस्तै तपाईंको कर दाखिला नम्बर (टी एफ एन) वा पासवर्डहरू।
  • हामीलाई तुरुन्तै 13 10 20 मा फोन गर्नुहोस् र हामीलाई तपाईंको अवस्थाबारे सल्लाह दिनुहोस्। यदि तपाईं अंग्रेजी बाहेक अन्य भाषा प्रयोग गरेर हामीसँग बोल्न चाहनुहुन्छ भने, अनुवाद र दोभाषे सेवा (Translating and Interpreting Service) लाई 13 14 50 मा फोन गर्न सक्नुहुन्छ। यो सेवाले हामीलाई एक दोभाषेको साथमा फोन गर्नेछ ताकि हामी तपाईंको जिज्ञासाबारे मद्दत गर्न सक्छौँ।

थप जानकारी

सुपरबारे थप जानकारीका लागि तपाईंका सेवानिवृत्ति (सुपरपेन्सन) का आधारभूत कुराहरू हेर्नुहोस्।

तपाईंले आफ्नो सुपर कहिले चाँडै पहुँच गर्न सक्नुहुन्छ र कहिले गर्न सक्नुहुन्न भन्नेबारे थप जानकारीका लागि:

यदि तपाईं अंग्रेजी बाहेक अन्य भाषा प्रयोग गरेर हामीसँग बोल्न चाहनुहुन्छ भने, अनुवाद र दोभाषे सेवा (Translating and Interpreting Service) लाई 13 14 50 मा फोन गर्न सक्नुहुन्छ। यो सेवाले हामीलाई एक दोभाषेको साथमा फोन गर्नेछ ताकि हामी तपाईंको जिज्ञासाबारे मद्दत गर्न सक्छौँ।

हामीसँग अङ्ग्रेजी बाहेक अन्य भाषाहरू मा जानकारी छन्।

QC72262